गगन थापा सामाजिक सञ्जालबाट हराए, स्वास्थ्य समस्यासँगै राजीनामा दबाब

कांग्रेसको भित्री विवाद र थापाको स्वास्थ्य समस्या प्रमुख कारण

We Trust · March 11, 2026 · 2026-03-11

नेपाली कांग्रेसका सभापति गगन थापा पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालबाट हराएका छन्। फागुन २१ को निर्वाचनसम्म थापाले दिनदिनै भिडियो, फोटो र टेक्स्टमार्फत आफ्नो विचार सार्वजनिक गर्दै आएका थिए। तर, चार दिनयता उनी सामाजिक सञ्जालमा नदेखिएपछि धेरैले प्रश्न उठाएका छन्।

थापाले कांग्रेसभित्र र तत्कालीन संसद्मा बलियो प्रतिपक्षकारूपमा सामाजिक सञ्जाललाई विचार व्यक्त गर्ने थलोका रूपमा उपयोग गर्दै आएका थिए। उनले अघिल्लो संसद्मा रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति नै बनाउन सफल भएका थिए। जेन-जी आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक अन्यौलता चिर्न पनि उनी सक्रिय थिए।

निर्वाचनमा कांग्रेसको लज्जास्पद हारपछि थापा सामाजिक सञ्जालबाट हराएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका थापा डा. अमरेशकुमार सिंहसँग १२ हजार मतले पराजित भए। कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको छ। थापाले अघि सारेका ‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ र ‘अबकी बार गगन सरकार’ नारालाई जनताले अस्वीकार गरे।

धेरैले उनलाई कांग्रेसको हारकै कारण लज्जाबोध भएको अनुमान गरेका छन्। पछिल्लो समय, थापाले मिडियाकर्मीसँग संवाद गरेका छैनन्। सोमबार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको थियो। त्यस भेटमा थापाले शर्मालाई राजीनामा दिने बताएका थिए भने शर्माले हतार नगर्न सुझाएका थिए।

थापाका निकट स्रोतले उनी स्वास्थ्य समस्याका कारण नबोलेको जानकारी दिएको छ। पार्टीका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार थापा छातीको इन्फेक्सनको कारण आराममा छन् तर गम्भीर छैनन्। औषधि लिइरहेको उनले बताए।

निर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भएको र नयाँ ढंगले अघि बढ्नुपर्ने आवाज उठेको छ। देशभरका कांग्रेस नेता र कार्यकर्ताले सभापतिले पछिल्लो परिस्थितिलाई सम्बोधन गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। *