गगन थापा र अमरेश सिंहबीच सर्लाही-४ मा कडा चुनावी प्रतिस्पर्धा

कांग्रेसको पुरानो गढ फर्काउने प्रयासमा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिंहको चुनौती

We Trust · March 2, 2026 · 1 दिन अगाडि

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही-४ क्षेत्रलाई चयन गरेका छन्। काठमाडौँ ४ बाट लगातार तीनपटक सांसद रहिसकेका थापा यसपटक मधेसको यस क्षेत्रमा गएर चुनाव लड्ने भएका हुन्। यस क्षेत्रलाई कांग्रेसको पुरानो गढ मानिन्छ, जहाँ २०४८ देखि २०५६ सम्म कांग्रेसको वर्चस्व रह्यो।

२०६४ मा मधेसी जनअधिकार फोरमले यो गढ हात पारेको थियो भने २०७० मा कांग्रेसका अमरेशकुमार सिंहले पुनः कांग्रेसको वर्चस्व कायम गरेका थिए। तर, २०७९ मा सिंह कांग्रेसबाट बागी बनेर चुनाव जित्न सफल भएका थिए।

यस पटक सिंह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। उनले कांग्रेसका गगन थापालाई चुनौती दिँदै भने, “गगनजीलाई स्वागत छ, चुनाव लड्न आउनुभएको छ, म हराएर पठाइदिन्छु।”

सर्लाही-४ कांग्रेस नेता महन्थ ठाकुरको पुरानो क्षेत्र हो। २०४८ र २०५१ मा उनले यहाँबाट चुनाव जितेका थिए। २०५६ पछि कांग्रेसले नागेन्द्र राय यादवलाई मैदानमा उतारेको थियो, जसले पनि जित हासिल गरेका थिए।

विशेष महाधिवेशनको रापतापमा रहेको कांग्रेसमा थापा र देउवा समूहबीच तिक्तता छ। उम्मेदवार छनोटको विवादका बीच थापाले सर्लाही-४ छानेका छन्।

राजनीतिक विश्लेषक चन्द्रकिशोर झाले गगन थापाको यो कदम कांग्रेसको पुरानो गढ फर्काउने प्रयास हुनसक्ने बताएका छन्। सर्लाही–४ मा एक लाख २१ हजार १२ मतदाता छन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। *