नेपाली कांग्रेसका सभापति गगन थापा नियमित प्रक्रियाबाट नभई विशेष महाधिवेशनबाट चुनिए, जसबाट बहालवाला सभापति शेरबहादुर देउवा जबर्जस्ती पदबाट हटाइए, जुन देउवाको इच्छाअनुसारको कार्य थिएन । गत पुस अन्तिममा भएको विशेष महाधिवेशनलाई न्यायिक परीक्षणमा पठाएका देउवालाई चुनावका विषयमा बोल्न दबाद थियो ।
देउवाको गृहजिल्ला डडेल्धुरामा नैनसिंह महरले कांग्रेसबाट टिकट पाएका छन् । सुदूरपश्चिम प्रदेशमा देउवाको खोजी भइरहेको छ । सके भूगोलमा उपस्थित हुन नसके विज्ञप्ति जारी गर्न देउवालाई दबाब थियो ।
१३ फागुनको मध्य राति स्वास्थ्यमा समस्या आएपछि देउवा सिंगापुर उपचारका लागि गएको नेता कृष्ण पौडेलले जानकारी दिए । सिंगापुर जानुअघि देउवासँग संयुक्त वक्तव्य निकाल्नका लागि कांग्रेसका नेताहरूले पनि संवाद गरिरहेका थिए । तर, वक्तव्यमा देउवाको हैसियत के हुने भन्ने प्रश्नको समाधान निस्कन सकेन ।
देउवानिकट नेता मीन विश्वकर्मा देउवा स्वदेशमा रहे पनि नभएजस्तै रहेको बताउँछन् । ‘उहाँ नेपालमा भए पनि नभएजस्तै त थियो । व्यक्तिगत भेटघाटमा आएकालाई भेट गर्नुहुन्थ्यो, कतै फोन गर्न लगाउँदा फोन गर्नुहुन्थ्यो, कसैलाई आशीर्वाद दिनुहुन्थ्यो । पब्लिक प्रोग्राममा उहाँलाई कसैले बोलाएका पनि थिएनन्,’ उनले शिलापत्रसँग भने ।
सुदूरपश्चिम प्रदेशमा देउवाको अनुहार नहुने भएपछि कांग्रेसले शीर्ष नेताहरूको ठूलो भेलासमेत गर्न सकेको छैन । वक्तव्य निकाल्नसमेत देउवालाई पदीय हैसियत के रहने भन्ने अप्ठेरो थियो । ‘विज्ञप्ति के भनेर निकाल्ने ? तल शेरबहादुर देउवा मात्र लेख्न मिलेन, सभापति लेख्नुपर्यो । सभापति नेपाली कांग्रेस लेख्नेबित्तिकै पार्टीको दुई धार देखियो । त्यो अप्ठेरो पर्छ भनेर औपचारिक भाषण र वक्तव्य ननिकाल्नुभएको हो,’ विश्वकर्माले भने ।
वक्तव्यमा देउवालाई सभापति १४औँ महाधिवेशन र थापालाई सभापति विशेष महाधिवेशन भनेर लेख्ने प्रस्ताव पनि थियो । तर, त्यसमा थापा तयार भएनन् । सबै नेताहरूको नाम मात्र राखेर वक्तव्य राख्ने विषयको प्रस्तावमा पनि अहिलेको नेतृत्व तयार नभएको विश्वकर्मा बताउँछन् । ‘आफ्नो पोर्टफोलियो र पब्लिक इमेजका कारणले उहाँले लिखित वक्तव्य वा सार्वजनिक मन्तव्य व्यक्त गर्नु भएन । सामाजिक अप्ठेरो देखियो,’ उनले भने ।
वक्तव्य निकाल्नेभन्दा पनि चुनाव प्राथमिकता रहेको कांग्रेस उपसभापति पुष्पा भुसाल बताउँछिन् । ‘हामीले सदैव भनिरहेका छौँ । सबै केन्द्रीय नेताहरूलाई सम्मान गरिरहेका छौँ । वैधता मान्ने नमान्नेभन्दा पनि सबैलाई सम्मान दिएर चुनाव प्राथमिकतामा छ भनेर लागेका छौँ,’ उनले शिलापत्रसँग भनिन्, ‘स्वास्थ्य उपचारका लागि जानुभएको उहाँ (देउवा) आउनुभए पनि चुनावमा पार्टी एक भएको सन्देश अझै बलियो हुन्छ । रुख चिह्नलाई जिताउने कुरा पहिलो हो ।’
देउवासँग संवाद गरे पनि सहमति गर्न अहिलेको नेतृत्वले पहल नगरेको भन्ने कुरालाई भुसालले अस्वीकार गरिन् । जिल्ला र वडा तह र देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि कांग्रेसमा अभूतपूर्व एकता र सद्भाव पाएको उनले बताइन् ।
कहिले फर्कन्छन् देउवा ?
देउवा कहिले फर्कने भन्ने तय भएको छैन । उनको उपचार जारी भएकाले चिकित्सकको सल्लाहबमोजिम नेपाल फर्कने कांग्रेस नेता कृष्ण पौडेलले जानकारी दिए । ‘भर्खरै मेरो कुरा भएको छ । आज रगत परीक्षण गर्न दिइएको छ । रिपोर्ट आउन २ दिन लाग्छ भन्ने छ,’ पौडेलले शिलापत्रसँग भने, ‘सकभर चुनावअघि फर्कनुहुन्छ र स्वास्थ्यले साथ दियो भने मतदानमा पनि सहभागी हुनुहुन्छ ।’